तनहुँमा तथ्याङ्क प्रविष्टिका लागि सम्झौता

तनहुँ | भदौ ६, २०७९

तनहुँमा  तथ्याङ्क प्रविष्टिका लागि सम्झौता तस्बिर साभार

 

तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टिका लागि आदिकवि भानुभक्त क्याम्पससँग सम्झौता गरेको छ । 

 

नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्याङ्क प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित उक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो ।

 

नगरपालिकासँग जनशक्ति कम भएको र तथ्याङ्क प्रविष्टिका लागि धेरै समय लाग्ने भएकाले प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी तथ्याङ्क प्रविष्टिका लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । 

 

नगरपालिकाले सबै वडामा निवेदन सङ्कलन गरेकामा व्यास १, २ र ३ निवेदन दर्ताको निस्सा वितरण भइसकेको छ । बाँकी वडाका करिब पाँच हजार पाँच सय तथ्याङ्क प्रविष्ट गर्न बाँकी रहेको छ । 

 

तथ्याङ्क प्रविष्टि गर्ने सङ्ख्या धेरै भएको र नगरपालिकासँग त्यसका लागि तीन जना मात्रै जनशक्ति भएकाले छिटो गर्नका लागि द्विपक्षीय सम्झौता गरी काम अगाडी बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । 

 

“अहिलेको जनशक्तिले प्रति व्यक्ति दिनमा २०÷२५ वटा मात्रै प्रविष्टि हुने रहेछ, त्यसरी काम गर्दा कम्तीमा एक वर्ष लाग्ने देखियो”, उहाँले भन्नुभयो, “काम समयमा नसक्ने भएकाले छिटो प्रविष्टिको काम सक्न सम्झौता गरेर आदिकविको जनशक्ति प्रयोग गर्न लागिएको हो ।”

 

आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीलाई प्रयोग गरी तथ्याङ्क प्रविष्टिको काम गर्ने भएको छ । एउटा फाइल प्रविष्टि गरेको नगरपालिकाले रु ४० दिने गरी सम्झौता भएको छ । “आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि पनि सहयोग पुग्ने देखियो”, प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो, “एक जना विद्यार्थीले दैनिक ३०/३५ वटा अपलोड गर्न सक्छन् भन्ने छ ।”

 

एक महिनाभित्र तथ्याङ्क प्रविष्टिको काम सम्पन्न गरी निस्सा वितरणपश्चात् छिटोभन्दा छिटो लालपुर्जा दिने उद्देश्य राखिएको नागिलाले जानकारी दिनुभयो । 

 

दुई पालिकामा भूमिहीनका लागि पुनः निवेदन दिन खुला

 

तनहुँका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि पुनः निवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि ३५ दिने सूचना जारी गरेको हो । 

 

शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो ।

 

आयोगले सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । शुक्लागण्डकी र आँबुखैरेनीले विभिन्न कारण देखाइ लगत सङ्कलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यसअघि निवेदन दिन छुट भएकालाई लक्षित गरी पुनः निवेदन सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो । 

 

दुई पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आग्रह गरिएको छ । यसअघि निवेदन परिसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः निवेदन दिनु नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

यसअघि जिल्लाका दशवटै पालिकामा लगत सङ्कलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक÷एक वडामा जग्गा नापीको कामसमेत सुरु भइसकेको छ । 

 

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका–७ र देवघाट गाउँपालिका–५ मा जग्गा नापजाँचको काम जारी छ । 

 

हालसम्म बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५, भानु नगरपालिका-१, व्यास नगरपालिका १, २, ३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । 

 

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ को निवेदन दर्ता भएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्